खेलकुद

एसियाली खेलकुद अन्तर्गत राष्ट्रिय पुरुष क्रिकेट टिम क्वाटरफाइनलमा

- केएफएम डेस्ककाठमाडौं

नेपाल १९ औँ एसियाली खेलकुद अन्तर्गत राष्ट्रिय पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह ए मा अपराजित रहँदै क्वाटरफाइनल प्रवेश गरेको हो ।

२ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स निर्धारित ओभरमा दुई बल बाँकी छँदा अलआउट हुँदै ७४ रनमा समेटियो । माल्दिभ्सका घानी अब्दुलले सर्वाधिक ३६ रन जोड्न बाहेक अन्यले राम्रो स्कोर जोड्न सकेनन् ।

नेपालका अभिनाश बोहराले ३ दशमलव ४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिए । अन्तर्राष्ट्रिय करिअरमा पहिलो पटक ६ विकेट लिएका, उनी टी–२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलरसमेत बनेका छन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन जोडे । यस्तै, गुलशन झाले ३५ तथा कुशल मल्ल ४७ रनमा नटआउट रहे । पाँचौँ विकेटका लागि गुलशन र रोहितले ७० रनको साझेदारी गरे ।

योसँगै समूह ए बाट नेपाल र सी बाट मलेसिया क्वाटरफाइनल पुगिसकेका छन् । समूह बी बाट आज जापान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । सो खेलको विजेता अन्तिम ८ मा प्रवेश गर्ने छ । क्वाटरफाइनलमा पाँच टेस्ट टोली भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले सोझै मौका पाएका थिए । क्वाटरफाइनलका खेलहरु पर्सिबाट सुरु हुनेछन् ।