बुढासुब्बा गोल्डकपको फाइनलमा एनआरटी र एन्फा मोरङ भिड्दै
- सुनसरीबुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम एनआरटी र मोरङ जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुँदैछ ।
सुनसरीको धरान रंगशालामा हुने फाइनल खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । मोरङले सेमिफाइनलमा आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि यात्रा तय गरेको हो ।
एनआरटीले भने अन्तिम चारको खेलमा साविक उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पेनाल्टी सुटआउटमा ५–० गोल अन्तरले हराउँदै मोरङसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
प्रतियोगिताको विजेताले ट्रफी सहित १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ हात पार्नेछन् भने सर्वाधिक गोलकर्तालाई ३५ हजार रुपैयाँ नगर पुरस्कारको व्यवस्था गरिएको आयोजक धरान फुटबल क्लबले जनाएको छ ।
यस्तै, विधागत उत्कृष्टले जनही २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा एक भारतीय सहित ८ टिमको सहभागिता रहेको थियो ।