खेलकुद

नेपाल र श्रीलंकाबीचको खेल वर्षाले रद्द

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाले रद्द भएको छ । अमेरिकाको सेन्ट्रल ब्रोआर्ड रिजनल पार्क रंगशालामा खेल नेपाली समय अनुसार बिहान सवा ५ बजे हुनुपर्ने भए पनि वर्षा नरोकिएपछि रद्द गरिएको हो । 

योसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् । लगातारको वर्षा नरोकिएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बिना टस खेल रद्द गरेको हो ।

यस नतिजापछि श्रीलंका समूह चरणबाटै बाहिरिने लगभग निश्चित जस्तै भएको छ । नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । 

श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । नेपाललाई सुपर ‘एट’मा पुग्न बाँकी खेल जित्नुपर्ने दबाब छ । समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान रहेको छ । 

नेपालले जुन १५ मा दक्षिण अफ्रिका र जुन १७ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा समूह चरणको अन्तिम दुई खेल खेल्ने छ । यस्तै, श्रीलंकाले समूह चरणको आफ्नो अन्तिम खेलमा जुन १७ मा नेदरल्यान्ड्ससँग खेल्ने छ ।