खेलकुद

टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानको पहिलो जित

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

पाकिस्तानले आईसीसी टी–२० विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ । समूह चरणको यसअघिका दुई खेलमा पराजित भएको पाकिस्तानले क्यानडाविरुद्धको खेलमा जित हासिल गर्दै सुपर ८ मा पुग्ने सम्भावना कायम राखेको हो । 

अमेरिकाको न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा गएराति भएको समूह ‘ए’को खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो । 

जितका लागि पाएको १ सय ७ रनको लक्ष्य पाकिस्तानले १७ ओभर ३ बलमा तीन विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान बाबर आजमले ३३ रन बनाए ।

त्यसअघि पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको क्यानडाले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । 

क्यानडाका लागि एरोन जोन्सनले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यो नतिजासँगै पाकिस्तान तीन खेलबाट दुई अंक सहित तेस्रो स्थानमा छ । इण्डिया ४ अंकका समूह ‘ए’को शीर्ष स्थानमा छ । समान चार अंकसहित अमेरिका दोस्रो स्थानमा छ । क्यानडा तीन खेलबाट दुई अंकका साथ समूहको चौंथो स्थानमा छ । 

पाकिस्तान पहिलो खेलमा अमेरिका र दोस्रो खेलमा इण्डियासँग पराजित भएको थियो । क्यानडाको यो तेस्रो खेलमा दोस्रो हार हो । पहिलो खेलमा अमेरिकासँग पराजित भएको क्यानाडाले आफ्नो दोस्रो खेलमा भने आयरल्यान्डलाई हराएको थियो । 

अमेरिकाले इण्डिया र आयरल्यान्डसँगका दुवै खेल गुमाएमा तथा पाकिस्तानले समूह चरणको अन्तिम खेल जितेको अवस्थामा मात्र पाकिस्तान ’सुपर एट’मा जाने सम्भावना रहन्छ ।