खेलकुद

युरो कपमा नेदरल्यान्ड्स र फ्रान्सबीच गोलरहित बराबरी

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

युरो कप फुटबलमा अस्ट्रियाले पोल्याण्डलाई पराजित गरेको छ । जमर्नीको बर्लिनमा गएराति भएको समूह ‘डी’को खेलमा अस्ट्रियाले पोल्याण्डलाई ३–१ गोल अन्तरले हराएको हो । 

यसअघि अस्ट्रिया र पोल्याण्ड दुबैले आफ्नो सुरुवाती खेल गुमाएको थियो । यो जितसँगै अस्ट्रियाले नकआउट चरणमा पुग्ने सम्भावनालाई जिवितै राखेको छ । अस्ट्रियाको जितमा गेर्नाेट ट्राउनर, क्रिस्टोफ बाउमगार्टनर र मार्को एर्नाउटोभिकले समान एक/एक गोल गरे । 

पोल्याण्डका क्रिस्टोफ पिएटेकले एक गोल फर्काए । खेलको नवौं मिनेटमा ट्राउनरको गोलबाट अस्ट्रियाले अग्रता बनाएको थियो । ३० औं मिनेटमा पोल्यान्डका पिएटेकले गोल गर्दै खेल १-१ को बराबरी अवस्थामा फर्काए । ६६ औं मिनेटमा बाउमगार्टनर र ७८ औं मिनेटमा मार्को एर्नाउटोभिकले पेनाल्टीमा गोल गर्दै अस्ट्रियाको जित सुनिश्चित गरे । 

यो नतिजासँगै अस्ट्रिया ३ अंकका साथ समूह तालिकाको तेस्रो स्थानमा रह्यो । लगातार दुई खेलमा पराजित पोल्यान्ड समूह चरणको एक खेल बाँकी छँदै बाहिरिएको छ ।

यस्तै, गएराति नै भएको समूह ‘डी’ को अर्को खेलमा नेदरल्यान्ड्स र फ्रान्सले गोलरहित बराबरी खेलेका छन् । समूहको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २–१ ले हराउँदा, फ्रान्सले अष्ट्रियालाई १–० ले पराजित गरेको थियो । 

समान ४/४ अंक जोडेको नेदरल्यान्ड्स गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ भने फ्रान्स दोस्रो स्थानमा छ । पोल्याण्ड भने अंकविहीन रहँदै समूहको पुछारमा छ । 

अब समूह चरणको अन्तिम खेलमा अस्ट्रियाले नेदरल्यान्ड्ससँग तथा पोल्यान्डले फ्रान्ससँग खेल्नेछ । पोल्यान्डले फ्रान्सलाई हराए पनि अघिल्लो चरण पुग्न भने पर्याप्त हुने छैन ।