खेलकुद

जमर्नीलाई पराजित गर्दै स्पेन युरो कपको सेमिफाइनलमा

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

आयोजक जमर्नीलाई पराजित गर्दै स्पेन युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । स्टुटगार्ट एरिनामा गएराति भएको खेलमा घरेलु टोली जमर्नीलाई २–१ गोल अन्तरले हराउँदै स्पेनले अन्तिम चारमा स्थान बनाएको हो । 

मिकेल मेरिनोले अतिरिक्त समयको अन्त्यमा निर्णायक गोल गरेपछि स्पेनले अन्तिम चारको यात्रा तय गरेको हो । आक्रमकता र तनावका साथ खेलिएको क्वार्टरफाइनलको ५१ औं मिनेटमा ड्यानी ओल्मोले स्पेनलाई अग्रता दिलाए । 

खेलको ८९ औं मिनेटमा फ्लोरियन वट्र्जले घरेलुु टोलीका लागि बराबरी गोल फर्काए । जर्मनीले बराबरी गोल गर्न अन्तिम समयसम्म कुर्नु पर्‍यो । तर, मिखेल मेरिनोले १ सय १९ औं मिनेटमा अर्को गोल गर्दै स्पेनको जित सुनिश्चित गरे । 

अतिरिक्त समयको अन्त्यमा स्पेनका डानी कार्भाजल रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । स्पेन र जर्मनी दुवैले सर्वाधिक ३–३ पटक युरो जितेका छन् ।