खेलकुद

स्पेन युरो कपको फाइनलमा

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । जमर्नीको एलियान्ज एरिना स्टेडियममा गएराति भएको रोमाञ्चक सेमिफाइनलमा फ्रान्सलाई २–१ गोलले पराजित स्पेनले उपाधि यात्रा तय गरेको हो । 

एक गोलले पछाडि रहेको स्थिति उल्टाएर स्पेन चौंथो पटक उपाधितर्फ अगाडि बढेको हो । स्पेन सन् १९६४, २००८ र २०१२ को सर्वाधिक ३ पटक युरो कप विजेता टोली हो । सन् १९८४ र २००० मा युरो उपाधि जितेको फ्रान्स भने सेमिफाइनलबाटै बाहिरिएको छ ।

रान्डल कोलो मुआनीले खेलको आठौं मिनेटमा हेडर मार्फत गरेको गोलबाट फ्रान्सले अग्रता लिएको थियो । तर, फ्रान्सले अग्रता कायम राख्न सकेन । 

२१ औं मिनेटमा लमिन यमलले स्पेनका लागि बराबरी गोल फर्काए । त्यसको चार मिनेटपछि नै ड्यानी ओल्मोले अर्को गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए । ओल्मोले खेलको २५ औं मिनेटमा गोल गरेका थिए । 

स्पेनका १६ वर्षीय लमिन यमल युरोपियन च्याम्पियनसिपको इतिहासमा सबैभन्दा कान्छो गोलकर्ता बनेका छन् । अब स्पेनले फाइनलमा इंग्ल्यान्ड वा नेदरल्यान्ड्स मध्ये एकको सामना गर्नेछ । इंग्ल्यान्ड र नेदरल्यान्ड्सबीचको सेमिफाइनल खेल आज राति पौने एक बजे हुनेछ ।