खेलकुद

नेपालले रसियन महिला भलिबल टिमसँग दोस्रो मैत्रीपूर्ण म्याच खेल्दै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले रसियन टोलीसँग आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा हुने नेपाल र रसियन महिला भलिबल टिमबीचको खेल साँझ ५ बजे सुरु हुनेछ । 

यसअघि हिजो भएको पहिलो मैत्रीपूणर् खेलमा नेपाल रसियन टोलीसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । नेपाली टोली रसियासँग २५-१७, २५-१९, २५-१५ सेटमा पराजित भएको हो । 

काठमाडौंस्थित रसियन दूतावासको सहयोगमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । यही साउन १७ देखि काठमाडौंमा आयोजना हुने काभा नेसन्स लिगको तयारीका लागि नेपालले रसियन महिला भलिबल टिमसँग दुई मैत्रीपूर्ण म्याच खेल्न लागेको हो । 

काभा लिगमा भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउने तय भएको नेपाल भलिबल संघले जनाएको छ । सो प्रतियोगिताका लागि नेपालले १४ सदस्यीय राष्ट्रिय टोली घोषणा गरिसकेको छ ।

टोलीमा कप्तान अरुणा शाही, सरस्वती चौधरी, सलिना श्रेष्ठ, साफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी छन् ।