खेलकुद

एएफसी च्यालेन्ज लिगमा नेपालको चर्च ब्वाइज र भुटानको पारो एफसी भिड्ने

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

एएफसी च्यालेन्ज लिग अन्तर्गतको प्रारम्भिक चरणको खेलमा नेपालको लिग च्याम्पियन अपी पावर चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबीच प्रतिस्पर्धा हुँदैछ । एसियाली फुटबल महासंघको कार्यक्रम अन्तर्गत एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलमा घरेलु टोली चर्च ब्वाइज र पारो एफसी भिड्न लागेका हुन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ । चर्च ब्वाइजले शहिद स्मारक ए डिभिजन लिगको विजेताको हैसियतमा यो खेल खेल्न लागेको हो । सोही प्रतियोगिताका लागि चर्च ब्वाइजले नेपाली राष्ट्रिय टीमका धेरै खेलाडी अनुबन्ध गरेको छ । 

अनन्त तामाङको कप्तानीमा रहेको टोलीमा अञ्जन विष्ट, आयुष घलान, लाकेन लिम्बू, दीप कार्की, टेकेन्द्रसिंह थापा लगायत छन् । विदेशी खेलाडीमा नाइजेरियाका ओमोलाजा करिम, जाम्बियाका पिटर बान्दा र घानाका मोसेस ग्याबा छन् । पारो एफसी यो पटक निकै प्रभावशाली रहने अनुमान गरिएको छ । 

तीन वटा विश्वकप खेलिसकेका जापानी फुटबल खेलाडी केसुके होन्डा सम्मिलित भुटानी टोली पारो एफसीले भने मैदानमा ११ जना नै विदेशी खेलाडी उतार्ने तयारी गरेको छ । 

अघिल्लो वर्ष दशरथ रंगशालामा नै एएफसी कप पहिलो चरणमा पारो एफसी मच्छिन्द्र क्लबसँग ३–२ गोलले पराजित भएको थियो । चर्च ब्वाइजले जित हात पारे समूह चरणमा प्रवेश पाउनेछ ।