खेलकुद

पल्सर स्पोर्टस अवार्ड कार्यक्रम आगामी भदौ २८ मा हुने

- केएफएम डेस्ककाठमाडौं

पल्सर स्पोर्टस अवार्डको २१ औं संस्करण आगामी भदौंमा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको अवार्ड कार्यक्रम भदौ २८ गते गर्ने घोषणा गरिएको हो ।

१० विधा समावेश गरिएको अवार्डको मुख्य प्रायोजकका रुपमा गोल्छा ग्रुपको बजाज पल्सर मोटरसाइकलसँग सहकार्य निरन्तरता पाएको छ । मञ्च र गोल्छा ग्रुपबीच अवार्डकै लागि सहकार्य भएको यो १६ औं वर्ष हो ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र गोल्छा ग्रुपका प्रवन्ध निर्देशक अभिमन्यू गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

वर्षका उत्कृष्ट पुरुष तथा महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहने बताइएको छ ।

यस्तै, वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने पत्रकार मञ्चले जनाएको छ ।