ताप्लेजुङ गोल्डकपः उपाधिका लागि मोरङ र सिराहाबीच प्रतिस्पर्धा हुने
- ताप्लेजुङदोस्रो संस्करणको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मोरङको सगरमाथा युथ क्लब र सिराहाको सलहेस युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
दोस्रो सेमिफाइनलमा झापाको बिर्तामोड युनाइटेड क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले गर्दै पराजित सलहेस युथ क्लबले सगरमाथा युथ क्लबसँगको उपाधि भिडन्त पक्का गरेको हो । निर्धारित र अतिरिक्त समयमा दूवै टोलीबाट समान १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।
पहिलो हाफमा सलहेशले १–० को अग्रता बनाए पनि दोस्रो हाफमा बिर्तामोड युनाइटेड क्लबले पुनरागमन गोल गर्दै अग्रता बराबरी गरेको थियो । यसअघि आयोजक ताप्लेजुङको संघर्ष स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मोरङको सगरमाथा युथ क्लब प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ ।
सोमबार हुने फाइनल खेलको विजेताले ५ लाख तथा उपविजेताले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक संघर्ष स्पोर्टिङ क्लबले जनाएको छ ।