खेलकुद

पेरिस पारा ओलम्पिकमा सहभागी नेपाली तक्वान्दो खेलाडी स्वदेश फिर्ता

- केएफएम डेस्क काठमाडौं

पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली आज स्वदेश फर्किएका छन् ।

 काठमाडौंको त्रिभुवन अन्तर्रष्ट्रिय विमानस्थलमा पलेशासहितको टोलीलाई बाजागाजासहित भव्य स्वागत गरिएको छ । गोवर्धनलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ, खेलाडी, समर्थकलगायतको बाक्लो उपस्थिती थियो । 

पलेशासहित नेपाली टीमलाई विमानस्थलबाट नगर परिक्रमा गराई राखेप प्राङ्गण त्रिपुरेश्वरमा स्वागत गरिएको छ । छोटो समयको तयारीका बावजुद ओलम्पिकमा पदक ल्याउन सफल भएको पलेशाले बताइन् । नेपालले अन्तर्राष्ट्रिय खेलकुदको ओलम्पिक संरचनामा पहिलो पटक आधिकारिक पदक जितेको हो ।

 पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले के–४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनि सर्बियाकी मारिया मिसेभलाई १५–८ स्कोरले हराएर कांस्य जितेकी थिइन् ।  

काठमाडौं महानगरद्वारा पलेशालाई सम्मान

पेरिस पाराओलम्पिक्सकी कास्य पदक विजेता पलेशालाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । 

महानगरले आज एक कार्यक्रमकाबीच पलेशालाई ५ लाख तथा मुख्यप्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो । 

दुवैलाई महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले सम्मान गरेका हुन् । महानगरले यसअघि गत महिना काभा महिला भलिबल नेसन्स लिगको रजत पदक विजेता नेपाली भलिबल टोलीलाई पनि नगदसहित सम्मान गरेको थियो ।