महिला लिग फुटबलमा एपीएफको पहिलो जित
- काठमाडौंएन्फा महिला लिग फुटबलमा आज सशस्त्र प्रहरीको एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा एपीएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । लिगको नयाँ सिजनमा एपीएफको यो पहिलो जित हो । यसअघि एपीएफले लिगको आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
लिगको आफ्नो पहिलो खेलमा आर्मीले भने संकटा क्लबलाई ४–० गोलले हराएको थियो । यसअघि एपीएफ र आर्मीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भनिएको थियो ।
तर, दशरथ रंगशालामा मर्मत सम्भारको कार्य भइरहेकोले सो खेल एन्फा कम्प्लेक्सको मैदानमा गर्नु परेको अखिल नेपाल फुटबल संघले जनाएको छ ।