एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डः यी हुन् अवार्ड पाउने खेलाडी
- काठमाडौंनेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डबाट विभिन्न विधामा पुरस्कार प्रदान गरेको छ ।
काठमाडौंमा आज एक कार्यक्रमकाबीच मञ्चले अवार्ड प्रदान गरेको हो । मञ्चका अनुसार यस वर्षकोे उत्कृष्ट युवा खेलाडीका रुपमा भारोत्तोलनका हेमन्त पाललाई अवार्ड प्रदान गरिएको छ । पालले भारतमा भएको एसियाली जुनियर भारोत्तोलनमा तीन कांस्य पदक जितेका थिए ।
वर्षको उत्कृष्ट प्रशिक्षकका रुपमा कराँतेका कुशल श्रेष्ठलाई अवार्ड दिइएको छ । श्रेष्ठको प्रशिक्षणमा नेपालकी एरिका गुरुङले चीनको हाङ्गझाओंमा गत वर्ष सम्पन्न १९ औं एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।
यस्तै स्पेशल अवार्ड भने न्यू डायमण्ड युथ भलिबल एकेडेमीका सञ्चालक कुमार राईलाई प्रदान गरिएको छ । टिम अफ दी इयर अवार्डबाट राष्ट्रिय महिला कबड्डी टोलीलाई सम्मान गरिएको छ भने पारा एथलेट अवार्ड तोक्वान्दोकी पलेशा गोवर्धनलाई प्रदान गरिएको छ । उनले पेरिसमा भएको ओलम्पीकमा कास्य पदक जितेकी थिइन् ।
यस्तै पिपल्स च्वाइस अवार्डबाट भलिबलकी कविता भट्ट सम्मानीत भएकी छन् । पुरुष वर्ष खेलाडीको अवार्ड क्रिकेटका रोहित कुमार पौडेलले पाउँदा महिला वर्ष खेलाडीबाट कराँतेकी एरिका गुरुङलाई सम्मनीत गरिएको छ ।
एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड दक्षिण कोरियाका खेल पत्रकार ही दोङ्ग जोंग लाई प्रदान गरिएको छ । यस्तै लाइफ टाइम एचिभमेन्ट अवार्डबाट क्रिकेटका विनय राज पाण्डेलाई सम्मानित गरिएको छ ।