खेलकुद

पोखरा महानगरद्वारा पलेशा सम्मानीत

- दीपक परियारपोखरा

पेरिस पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल पलेशालाई नगर प्रमुख धनराज आचार्यले २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित सम्मान गरेका हुन् । पोखरा रंगशालामा आज आयोजित एक कार्यक्रमकाबीच उनलाई सो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालका खेलाडीहरुको प्रेरणाको स्रोतका रुपमा पलेशाको सफलता महत्वपूर्ण हुने उल्लेख गरे ।

महानगरपालिकाले प्रदान गरेको सम्मान पलेसा लगायत खेलाडीहरुको प्रोत्साहन र हौसलाका लागि महत्वपूर्ण हुने उनले बताए । महानगरले पलेशासँगै प्रशिक्षक कविराज नेगी लामा र म्यानेजर रामचन्द्र श्रेष्ठलाई समेत सम्मान गरेको छ ।