खेलकुद

विश्वकप क्रिकेट लिग-‘टू’मा क्यानडाको लगातार दोस्रो जित

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

आईसीसी विश्वकप क्रिकेट लिग–‘टू’मा क्यानडाले लगातार दोस्रो जित हासिल गरेको छ । घरेलु टोली क्यानडाले किङ्स सिटीस्थित मैदानमा गएराति भएको खेलमा ओमानलाई ५९ रनले हराएको हो । 

क्यानडाले दिएको २ सय ७७ रनको लक्ष्य पछ्याएको ओमान ४६ ओभरमा २ सय १७ रनमा अल आउट भएको थियो । ओमानका लागि फय्याज बटले सर्वाधिक ४४, आयान खानले ३० र मेहरान खानले ३७ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन राम्रो रहेन । क्यानडाका डिलोन हेलिगरले सर्वाधिक चार विकेट लिए ।

त्यसअघि ओमानले टस जितेर पहिला फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७६ रन बनाएको थियो । क्यानडाका लागि हर्ष ठाकरले सर्वाधिक ९३ रनको योगदान दिए । 

यस्तै, निकोलस किर्टनले ५७ र परगट सिंहले ४२ रन बनाएर आउट भए । ओमानका शकील अहमद, कलीमुल्लाह र फय्याज बटले समान २–२ विकेट लिए । 

क्यानडाले नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित हासिल गरेको हो । सिरिजको पहिलो खेलमा क्यानडाले नेपाललाई १ सय ३ रनको फराकिलो अन्तरले हराएको थियो ।

जितसँगै लिग–२ को तालिकामा क्यानडाले शीर्ष स्थानको नेदरल्यान्ड्ससँगको अंक दूरी बराबरी गरेको छ । क्यानडाको १० खेल र नेदरल्यान्ड्सको ८ खेलबाट समान १२–१२ अंक छ । 

ओमान ६ खेलमा ५ अंकसहित छैटौं र नेपाल ६ खेलमा २ अंक सहित सातौं स्थानमा छ । लिग–२ अन्तर्गत भोलि हुने खेलमा नेपालले घरेलु टोली क्यानडाको सामना गर्नेछ ।