खेलकुद

एन्फा महिला लिगः सुपर लिगमा पुग्ने पाँच टोलीको टुङ्गो

- केएफएम डेस्ककाठमाडौं

एन्फा महिला लिग फुटबलको सुपर लिगमा स्थान बनाउने पाँच टोलीको टुङ्गो लागेको छ । तीन विभागीय टोली नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसँगै स्याङ्जाको वालिङ नगरपालिका र कोशी प्रदेश सुपर लिगमा प्रवेश गरेका हुन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सुदुरपश्चिम प्रदेशलाई ४–० गोलले हराउँदै कोशी सुपर लिगमा प्रवेश गरेको हो । सुदुरपश्चिमको जितमा ममता रावत, समिक्षा मगर, पूर्णिमा राई र कुश्मा राईले एक÷एक गोल गरिन् ।

एन्फा लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकाल्दै कोशीले ९ खेलबाट १४ अंक बनाएर शीर्ष पाँचमा अटाएको छ । कोशीले ९ खेलबाट ४ जित, २ बराबरी र ३ हार व्यहोरेको छ । सुदुरपश्चिम भने अङ्कविहीन बन्दै प्रतियोगिताबाट बाहिरियो । सबै खेलमा हार व्यहोरेको सुदूरपश्चिमले ६९ गोल खाएको छ भने ३ गोल फर्कायो ।

आजै भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई २–१ गोलले पराजित गर्दै सुपर लिगमा स्थान बनाएको थियो । पहिलो चरणको आफ्नो अन्तिम खेलमा जित निकालेपछि वालिङले शीर्ष पाँचमा स्थान सुरक्षित गर्दै सुपर लिगमा स्थान पक्का गरेको हो ।

खेलको पाँचौं मिनेटमै सुक्रिया मियाले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् । ३६ मिनेटमा ज्याकलिन नासालीले गोल गर्दै वालिङको अग्रता दोब्बर पारिन् । चन्द्रपुरका लागि सुनिता सुनारले दोस्रो हाफमा एक गोल फर्काइन् ।

जितपछि ९ खेलबाट १५ अंक जोडेको वालिङले अङ्कतालिकामा चौथो स्थानमा रहँदै पहिलो चरण सकाएको छ । हारपछि चन्द्रपुर भने सुपर लिग होडबाट बाहिरिएको छ । चन्द्रपुरले ९ खेलबाट ८ अङ्क मात्र जोड्यो । १० टोली सहभागी लिगमा पहिलो चरणको खेलपछि शीर्ष पाँचमा रहने टोली सुपर लिगमा प्रवेश गरेका हुन् । सुपर लिग डबल राउण्ड रोबिनका आधारमा हुनेछ ।