खेलकुद

नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा क्यानडाको सामना गर्दै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपालले त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको आफ्नो तेस्रो खेलमा आज घरेलु टोली क्यानडाको सामना गर्दैछ । किङ सिटीस्थित मैदानमा हुने नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । 

पहिलो खेलमा घरेलु टोलीसँग पराजित नेपाल आज त्यसका बदला लिने योजनामा हुनेछ । टी–२० सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो । 

ट्वान्टी–२० सिरिजको दोस्रो खेलमा भने नेपालले ओमानलाई ३७ रनले पराजित गरेको थियो । लगातार खराब खेलिरहेको नेपालले क्यानडा भ्रमणमा ओमानविरुद्ध पहिलो जित हात पारेको हो ।

यसअघि नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीयमा नेपालले तीन खेल हारेको थियो । विश्वकप क्रिकेट लिग टूमा नेपाल क्यानडासँगको दुवै खेलमा पराजित भएको थियो भने ओमानसँग एक खेल हारेको थियो । एक खेल भने वर्षका कारण रद्द भएको थियो ।