खेलकुद

झरना स्पोर्ट्स क्लब झरना रनिङ शिल्ड फुटबलको फाइनलमा

- सन्जु पौडेलतिलोत्तमा

गोर्खा ब्वाइजलाई हराउँदै आयोजक झरना स्पोर्ट्स क्लब ३६ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अन्तिम सेमिफाइनलमा गोर्खा ब्वाइजलाई ३–२ गोल अन्तरले पराजित गर्दै उसले फाइनलको यात्रा तय गरेको हो । 

प्रतिस्पर्धात्मक खेलको चौंथो मिनेटमा गोर्खा ब्वाइजका अनिल राना मगरले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ३८ औं मिनेटमा रिचार्डले गोर्खा ब्वाइजको अग्रता दोब्बर पारे । खेलको पहिलो हाफमा बलियो बनेको गोर्खा ब्वाइज दोस्रो हाफमा दबाबमा पर्‍यो । 

दोस्रो हाफमा झरना लयमा फर्कियो । खेलको ४४ औं मिनेटमा झरनाका एरोन थापाले पहिलो गोल गरे । खेलको ६५ औं मिनेटमा झरनाका जितेश गुरुङले बराबरी गोल गरे । अतिरिक्त समयमा झरनाका एलेक्स भिक्टरले आर्कषक विजयी गोल गरे । खेलमा झरनाका सन्तोष खत्री म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

शनिबार हुने फाइनलमा आयोजक झरना र लिस्नु युवा क्लबबीच खेल हुनेछ । १६ टिमको सहभागिता रहेको खेलमा रुपन्देही बाहेक कपिलवस्तु, पश्चिम नवलपरासी र स्याङ्जाको समेत सहभागिता रहेको छ । 

खेलमा प्रथम हुने टिमले ३ लाख ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, दोस्रो हुने टिमले १ लाख ८१ हजार रुपैयाँ पाउने क्लबका अध्यक्ष धनेन्द्र पौडेलले बताउनुभयो । 

२०२७ सालमा स्थानीय युवाले स्थापना गरेको झरना क्लबले २०३९ यता प्रत्येक वर्ष रनिङ शिल्ड प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिता अन्तर्गत गत वर्ष भूपू सैनिक जबै स्पोर्टिङ क्लबले उपाधि चुमेको थियो ।