खेलकुद

झरना रनिङ शिल्डको फाइनलमा आयोजक झरना स्पोर्ट्स र लिस्नु भिडने

- सन्जु पौडेलतिलोत्तमा

झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक झरना स्पोर्ट्स क्लब र रुपन्देहीको लिस्नु युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । 

फाइनल खेल आज (शनिबार) हुँदैछ । तिलोत्तमा नगरपालिका–६ कुञ्जलापुरस्थित उमा आधारभूत विद्यालयको मैदानमा हुने फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ । 

अन्तिम सेमिफाइनलमा शुक्रबार गोर्खा ब्वाइज एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै आयोजक झरना स्पोर्ट्स क्लबले उपाधि यात्रा तय गरेको हो ।

१६ टिमको सहभागिता रहेको खेलमा रुपन्देही बाहेक कपिलवस्तु, पश्चिम नवलपरासी र स्याङ्जाको समेत सहभागिता रहेको छ । खेलमा प्रथम हुने टिमले ३ लाख ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

त्यस्तै, दोस्रो हुने टिमले १ लाख ८१ हजार रुपैयाँ पाउने क्लबका अध्यक्ष धनेन्द्र पौडेलले बताउनुभयो । २०२७ सालमा स्थानीय युवाले स्थापना गरेको झरना क्लबले २०३९ यता प्रत्येक वर्ष रनिङ शिल्ड प्रतियोगिता गर्दै आएको छ । 

प्रतियोगिता अन्तर्गत गत वर्ष भूपू सैनिक जबै स्पोर्टिङ क्लबले उपाधि चुमेको थियो ।