खेलकुद

एभरेस्ट महिला भलिबल लिगको फाइनलमा कर्णालीले ललितपुरको सामना गर्ने

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

पहिलो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिग प्रतियोगिताको फाइनल आज हुँदैछ । प्रतियोगिताको उपाधिका लागि कर्णाली यश्विजले ललितपुर क्विन्सको सामना गर्नेछ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुने कर्णाली र ललितपुरको उपाधि भिडन्त साँझ साढे ५ बजे सुरु हुनेछ । कर्णाली यश्विजले एभरेष्ट महिला भलिबल लिगमा अपराजित रहेर उपाधि यात्रा तय गरेको हो । 

गएराति सम्पन्न लिगको अन्तिम खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सलाई ३–१ को सेटले पराजित गरेपछि फाइनल समिकरण तयार भएको हो । 

कर्णालीले उत्कृष्ट सुरुवात गर्दै फराकिलो अग्रता लिएपनि पहिलो सेटमा सेट २५–२३ ले गुमाएको थियो । त्यसपछिका ३ सेटमा भने कर्णालीले उत्कृष्ट पुनरागमन गर्दै फाइनल यात्रा तय गरेको हो । कर्णालीले दोस्रो सेट २५–१४, तेस्रो सेट २५–२३ र चौंथो सेट २५–१२ ले जितेको हो ।

ललितपुर क्विन्सले भने अन्तिम दिन चितवन शक्तिलाई हराउँदै दोस्रो स्थानमा उक्लेसँगै फाइनल प्रवेश गर्न सफल भएको हो । पहिलो सेट २०–२५ ले गुमाएको सलिना श्रेष्ठ मार्की खेलाडी रहेको ललितपुरले त्यसपछि लगातार तीन सेटमा २५–२१, २५–१६, २५–१९ को जित निकालेको हो । 

प्रतियोगितामा अपराजित कर्णालीको ५ खेलबाट १३ अंक भएको छ । दोस्रो स्थानमा रहेको ललितपुर क्विन्सले ५ खेलबाट १० अंक जोडेको छ । काठमाडौं भने ९ अंकसहित तेस्रो स्थानमा रह्यो ।