खेलकुद

पदम पोखरी मकवानपुर लिग च्याम्पियन

- सुवास विडारीमकवानपुर

मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको पाँचौ संस्करणको उपाधि पदमपोखरी युवा क्लबले जितेको छ । शनिबार हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनलमा सहिद स्मृति क्लबलाई ३–१ ले हराउँदै पदम पोखरीले उपाधिमा आफ्नो नाम लेखाएको हो । 

३५ दिन सञ्चालन भएको लिगको ९१ खेल पश्चात् प्रतियोगिता विजेता टोलीको टुंगो लागेको हो । योसँगै जिल्ला लिगको एउटा चक्र मकवानपुरमा पूरा भएको छ । अब मकवानपुरमा ए, बी र सी डिभिजन टोली आगामी वर्षबाट लिगको ढाँचाको लागि तयार भएका छन् । 

यसवर्षबाटै लिगमा रेलिगेशनको प्रावधान राखिएको थियो । प्रतियोगिताको विजेता पदम पोखरीले एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता सहिद स्मृति क्लब बाग्मतीले ५० हजार रुपैयाँमै चित्त बुझायो । लिगको विजेता पदम पोखरीले बागमती प्रदेश लिग समेत खेल्नेछ । 

लिगमा मकवानपुरका २८ वटा क्लवको सहभागिता रहेको थियो । खेलको २४ मिनेटमै दिवश गोलेको गोलमार्फत पदम पोखरीले अग्रता लिएको थियो । ३९ औं मिनेटमा उप्रान्त आलेको उत्कृष्ट गोलमार्फत सहिद स्मृति खेलमा फर्किएको थियो । 

त्यसअघि आलेको पेनाल्टी प्रहारलाई पदम पोखरीका गोलरक्षक रोजक थिङले बचाएका थिए । पदम पोखरीले दोस्रो हाफमा २ गोल थपेको थियो । पदम पोखरी विजेश तितुङले ६८ औं मिनेटमा अग्रता दोब्बर बनाए । 

अतिरिक्त समयको अन्तिम मिनेटमा पदम पोखरीका लागि विकी जिम्बाले निर्णायक गोल गरेका हुन् । फाइनल खेलको म्यान अफ द म्याच पदम पोखरीका विजेश तितुङ घोषित भए । 

पदम पोखरीका रोजक थिङ उत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा नमराज थिङ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र मोक्तान उत्कृष्ट प्रशिक्षक घोषित भए । बाग्मतीका अरुण आले उत्कृष्ट डिफेण्डर र उप्रान्त आले उत्कृष्ट फरवार्ड घोषित भए । 

प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई बागमती प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा, प्रतियोगिता संयोजक युवराज लामा लगायतले पुरस्कार वितरण गरेका हुन् ।