खेलकुद

३६ औं झरना रनिङ शिल्ड फुटबलको उपाधि लिस्नु युवा क्लबलाई

- सन्जु पौडेलतिलोत्तमा

झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको ३६ औं संस्करणको उपाधि लिस्नु युवा क्लबले जितेको छ । तिलोत्तमा नगरपालिका–६ कुञ्जलापुरस्थित उमा आधारभूत विद्यालयको मैदानमा शनिबार भएको फाइनलमा आयोजक झरना स्पोर्ट्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै लिस्नु युवा क्लब च्याम्पियन बनेको हो । 

विजेता लिस्नुले ३ लाख ३१ हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपबिजेता बनेको आयोजक झरना स्पोर्ट्स क्लबले १ लाख ८१ हजार रुपैयाँमा चित्त बुझायो । 

खेलको पहिलो हाफ गोल रहित रह्यो । दोस्रो हाफको १३ औं मिनेटमा झरनाका खेलाडीले फल गरेपछि लिस्नुले पेनाल्टीको अवसर पाएको थियो । लिस्नुका कप्तान एन्जल महर्जनले पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाए । 

सेमिफाइनमा पुगेको गोर्खा ब्वाइज र जनज्योती एफसीले नगद २५÷२५ हजार रुपैयाँ पुरस्कार पाए । १६ टिम सहभागी भएको खेलमा रुपन्देही बाहेक कपिलवस्तु, पश्चिम नवलपरासी र स्याङ्जाको वालिङबाट समेत टिमको सहभागिता रहेको थियो । 

खेलमा झरनाका जितेश गुरुङ सर्वाेत्कृष्ट खेलाडी बन्न सफल भए । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाए । त्यस्तै, झरनाका कुलदीप क्षेत्रीले बेस्ट डिफेन्सरको उपाधि चुमे । 

खेलमा लिस्नुका विशाल केसी उत्कृष्ट गोलरक्षक बने । झरनाका सन्तोष खत्री उत्कृष्ट मिडफिल्डर भए भने लिस्नुका बुद्धि पुन उत्कृष्ट प्रशिक्षक घोषित भए । खेलमा लिस्नुका सुशील राईले उत्कृष्ट स्ट्राइकरको पुरस्कार प्राप्त गरे । उनीहरुले जनही १० हजार रुपैयाँ प्राप्त गरेका छन् । 

खेल अवधिभर अनुशासनमा रहेर खेलेकोमा योङ स्टार मडाहाले फेयर टिमको पुरस्कार पाएको थियो । २०२७ सालमा स्थानिय युवाबाट स्थापना भएको झरनाले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ ।