खेलकुद

न्युजिल्यान्ड महिला टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

न्युजिल्यान्ड आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम गएराति भएको समूहको ‘ए’को खेलमा पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्युजिल्यान्डले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

जितका लागि १ सय ११ रनको लक्ष्य पछ्याएको पाकिस्तान ११ ओभर ४ बलमा ५६ रन बनाएर अलआउट भयो । पाकिस्तानका लागि भने कप्तान फतिमा सानाले सबैभन्दा बढी २१ रन जोडिन् । मुनिबा अलीले १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । न्युजिल्यान्डका लागि अमेलिया केरले सर्वाधिक ३ तथा इडेन कार्सनले २ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरमा ६ विकटेको क्षतिमा १ सय १० रन बनाएको थियो । उसका लागि सुजी बेट्सले सर्वाधिक २८ रनको योगदान गरिन् । 

यस्तै, ब्रुक हालिडेले २२ र कप्तान सोफी डेभिनले १९ रन बनाइन् । पाकिस्तानकी नस्रा सन्धुले सर्वाधिक ३ विकेट हात पारिन् । सादिया इकबाल, निदा डार र ओमाइमा सोहेलले समान एक÷एक विकेट लिइन् । 

यो जितपछि न्युजिल्यान्ड चार खेलबाट ६ अंकसहित समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको हो । लिग चरणका सबै खेल जितेको अस्ट्रेलिया ८ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेर यसअघि नै सेमिफाइनल पुगिसकेको छ । समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टिमको भने निर्णय हुन बाँकी छ ।

यसैबीच, महिला टी–२० विश्वकप क्रिकेटको समूह ‘बी’को आजको खेलमा इंग्ल्याण्डले वेस्ट इण्डिजको सामना गर्ने भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । 

तालिकाको शीर्ष स्थानमा रहेको इंग्ल्याण्डको तीन खेलबाट ६ अंक छ । दोस्रो स्थानको साउथ अफ्रिकाको चार खेलबाट समान ६ नै अंक रहेको छ । वेस्ट इण्डिज भने तीन खेलबाट चार अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।