खेलकुद

वेस्ट इन्डिज महिला ट्वान्टी-२० विश्वकपको सेमिफाइनलमा

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम गएराति भएको समूह ‘बी’को खेलमा वेस्ट इण्डिजले इंग्ल्याण्डलाई पराजित गरेसँगै सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लागेको हो । 

वेस्ट इण्डिजले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गर्दैै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो । जितका लागि १ सय ४२ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले १८ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो । वेस्ट इण्डिजका लागि क्वीना जोसेफले सर्वाधिक ५२ रनको योगदान गरिन् ।

त्यसअघि वेस्ट इण्डिजले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । उसका लागि नाट साइभर–ब्रन्टले अविजित रहँदै ५७ रनको अर्धशतकीय इनिङस् खेलिन् । 

योे हारसँगै इंग्ल्यान्ड भने निराशाजनक रुपमा प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘बी’मा तीनै टिमको समान छ अंकमा रहेपछि नेट रन रेटका आधारमा सेमिफाइनल खेल्ने टिमको निर्धारण भएको हो । लिग चरणको अन्तिम खेल अगाडि समूह ‘बी’को शीर्षमा रहेको इंग्ल्यान्ड हारपछि तेस्रो स्थानमा झरेको थियो ।

अब भोलिबाट सुरु हुने सेमिफाइनलमा अस्ट्रेलियाले साउथ अफ्रिका र न्युजिल्याण्डले वेस्ट इण्डिजको सामना गर्नेछ । अस्ट्रेलिया लिग चरणमा अपराजित रहँदै अन्तिम चारमा पुगेको हो । 

न्युजिल्याण्डले समूह 'ए' को दोस्रो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै, वेस्ट इण्डिजले समूह ‘बी’को शीर्ष स्थानमा रहेर तथा साउथ अफ्रिकाले दोस्रो स्थानमा रहेर अन्तिम चारको यात्रा तय गरेको हो ।