खेलकुद

साफ महिला च्याम्पियनसिप फुटबलः पाकिस्तान भारतसँग ५–२ गोल अन्तरले पराजित

- केएफएम डेस्ककाठमाडौं

आजबाट सुरु साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई हराएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा ४–१ गोल अन्तरको अग्रता बनाएको भारतले दोस्रो हाफमा थप २ गोल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । भारतले पहिलो हाफको पाँचौ, १७ औं, ३५ औं र ४२ औं मिनेटमा गोल गर्दा पाकिस्तानले पहिलो हाफको इन्जुरी समयमा एक गोल गर्यो ।

दोस्रो हाफमा पुनरागमन गरेको पाकिस्तानले ४७ औं मिनेटमा थप एक गोल गर्दै भारतको अग्रता ४–२ को अवस्थामा झारेको थियो । पुनः भारतले ७८ औं मिनेटमा गोल गरेसँगै जित सुनिश्चित गरेको हो । जितसँगै भारतले तीन अंक जोडेको छ भने पाकिस्तान अंकविहीन बनेको छ ।

पाकिस्तान र भारत साफ महिला च्याम्पियनसिपमा तेस्रो पटक आमनेसामने भएका हुन् । यसअघि सन् २०१४ को सेमिफाइनलमा भारत ८–० गोलको फराकिलो अन्तरले विजयी भएको थियो । अघिल्लो संस्करण भारतले पाकिस्तानलाई समूह चरणमा ३–० गोलले पराजित गरेको थियो । सन् २०१६ र २०१९ को संस्करणमा भने पाकिस्तान सहभागी भएको थिएन ।

प्रतियोगितामा सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह–ए मा पाकिस्तान, भारत र साविक विजेता बंगलादेश छन् भने समूह–बीमा घरेलु टोली नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान छन् । नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिपको आयोजना गरेपनि अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन । नेपालले ६ संस्करण मध्ये पाँच पटक फाइनल खेलेको छ ।

पछिल्लो संस्करणमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । यसअघि सन् २०१९ को साफ विराटनगर र २०२२ को दशरथ रंगशालामा नै भएको थियो । नेपालले भने आफ्नो पहिलो खेलमा भोलि भुटानसँग खेल्ने तालिका छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।