खेलकुद

साफ महिला च्याम्पियनसिपः अयोजक नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदै

- केएफएम डेस्ककाठमाडौं

साफ महिला च्याम्पियनसिप फुटबलमा घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा आज भुटानको सामना गर्दैछ । 

समूह ‘बी’ मा रहेका नेपाल र भुटानबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे प्रतिस्पर्धा सुरु हुनेछ । घरेलु मैदानमा नेपाल जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छ । नेपाल स्टार फरवार्ड सावित्रा भण्डारीबिना मैदान उत्रदैछ । 

तुलनात्मक रुपमा साविक उपविजेता नेपाल, भुटान भन्दा बलियो छ । सन् २०२२ को पछिल्लो संस्करणमा नेपाल भुटानमाथि ४–० ले विजयी रहेको थियो । यस प्रतियोगिताका लागि नेपाली टोलीले ३ साता मात्र अभ्यास गरेको थियो । च्याम्पियनसिपमा हालसम्म प्रभावशाली प्रदर्शन गर्न नसकेको भुटानले यस पटक भने लामो तयारी गरेको छ ।

 नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिपको आयोजना गरेपनि अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन । नेपालले ६ संस्करण मध्ये पाँच पटक फाइनल खेलेको छ । प्रतियोगितामा सबैभन्दा कमजोर प्रदर्शन गर्दै आएको भुटानले गत संस्करण पहिलो जित हात पार्दै सेमिफाइनलसम्म पुगेको थियो ।