खेलकुद

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र भुटानबीच गोलरहित बराबरी

- केएफएम डेस्ककाठमाडौं

साफ महिला च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपालले गोलरहित बराबरी खेलेको छ । 

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोली भुटानसँग नेपाल गोलरहित बराबरीमा रोकिएको हो । 

तुलनात्मक रुपमा कमजोर मानिएको भुटानविरुद्ध नेपालले कुनैपनि गोल गर्न सकेन । यसअघि सन् २०२२ को पछिल्लो संस्करणमा नेपाल भुटानमाथि ४–० गोल अन्तरले विजयी भएको थियो । 

नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिपको आयोजना गरेपनि अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन । नेपालले ६ संस्करण मध्ये पाँच पटक फाइनल खेलेको छ ।

 प्रतियोगितामा सबैभन्दा कमजोर प्रदर्शन गर्दै आएको भुटानले गत संस्करण पहिलो जित हात पार्दै सेमिफाइनलसम्म यात्रा गरेको थियो । यसैबीच आज दिउँसो भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ । जितसँगै श्रीलंकाले समूह चरणमा ३ अंक बनाएको छ ।