खेलकुद

अमेरिकाविरुद्धको टी-२० आई सिरिज नेपालले जित्यो

काठमाडौं

नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज क्रिकेटमा दोस्रो जित निकालेको छ । डालासस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा बिहान भएको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली अमेरिकालाई सुपर ओभरमा पराजित गरेको हो । 

यो जितसँगै नेपालले ३ खेलको सिरिज एक खेल अगाबै आफ्नो पक्षमा पार्न सफल भएको हो । नेपालको जितमा सोमपाल कामी नायक रहे । उनले सुपर ओभरमा दुई रन मात्र दिएर दुई विकेट लिए । 

सुपर ओभरमा अमेरिकाले दुई रन मात्र बनाउन सक्यो । कुशल भुर्तेल र कप्तान रोहित पौडेलले चार बलमा तीन रन पूरा गरेर नेपालले सिरिज जितेको हो ।

यसअघि कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा नेपालले अमेरिकासामु १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ७० बनाएको हो ।

नेपालका अलराउण्डर कुशल भुर्तेलले अविजित रहँदै ९२ रनको अर्धशतकीय इनिङ्स खेले । भुर्तेलले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गरे । 

यस्तै, ओपनर अनिल साह २५ रन बनाएर आउट भए । गुल्शन झा १९ र कप्तान रोहित पौडेल १८ रनमा पभिलिएन फर्किए । घरेलु टोली अमेरिकाका जशदीप सिंह र नस्तुश केन्जीगेले २÷२ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ८ विकेट गुमाएर एक सय ७० रन नै बनाएपछि खेल सुपर ओभरमा गएको हो । अमेरिकालाई आन्द्रेस गुसले सर्वाधिक ६२ रन बनाए । 

नेपालका लागि करण केसीले तीन र सोमपाल कामीले दुई विकेट लिए । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली अमेरिकामाथि १७ रनको जित निकालेको हो । 

नेपाल र अमेरिकाबीचको तेस्रो तथा अन्तिम टी–२० आई सिरिज भोलि सोमबार हुनेछ । यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–टू का खेल हुनेछन् ।