खेलकुद

महिला टी–२० विश्वकपः उपाधिका लागि युजिल्याण्ड र दक्षिण अफ्रिका खेल्दै

- केएफएम डेस्ककाठमाडौं

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । 

संयुक्त अरब इमिरेट्स यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । दक्षिण अफ्रिका पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन तथा ६ पटकको विजेता अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । 

दोस्रो सेमिफाइनलमा न्यूजिल्याण्डले वेस्ट इण्डिजलाई ८ रनले हराउँदै उपाधि यात्रा तय गरेको हो । न्युजिल्यान्ड सन् २०१० यता पहिलो पटक यस विश्वकपको फाइनल पुगेको हो ।

दक्षिण अफ्रिका भने गत वर्ष भएको महिला टी–२० क्रिकेटको फाइनलमा अस्ट्रेलियासँग नै पराजित रहेको थियो ।यससँगै नवौं संस्करणको प्रतियोगिता नयाँ च्याम्पियन पाउने पनि निश्चित भएको छ । 

अहिलेसम्म अस्ट्रेलियाले सर्वाधिक ६ पटक महिला टी–२० विश्वकपको उपाधि जितेको छ । इंग्ल्याण्डले र वेस्ट इण्डिजले एक÷एक पटक उपाधि जितेको छ ।