खेलकुद

न्युजिल्यान्डले जित्यो महिला टी–२० विश्वकपको उपाधि

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

न्युजिल्यान्डले पहिलो पटक आईसीसी महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । संयुक्त अरब इमिरेट्स यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा गएराति भएको फाइनलमा दक्षिण अफ्रिकालाई सजिलै ३२ रनले पराजित गर्दै न्युजिल्यान्ड च्याम्पियन बनेको हो । 

जितका लागि १ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित ओभमार ९ विकेट गुमाउँदै १ सय २६ रनमा समेटियो । उसका लागि कप्तान लौरा वोल्भार्डले सर्वाधिक ३३ रन बनाइन् ।

त्यसअघि दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ् रोजेपछि पहिला ब्याटिङ् गरेको न्युजिल्यान्डले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १ सय ५८ रनको योगफल तयार पारेको थियो । 

न्युजिल्यान्डका अमेरिया केरले सर्वाधिक ४३ रन बनाइन् । उनी नै ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । प्रतियोगिता अगाडि न्युजिल्यान्ड लगातार दश खेलमा पराजित रहेको थियो । तर, यही टिमले महिला टी–२० क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता जितेको हो । 

यसअघि न्युजिल्यान्ड सन् २००९ र २०१० फाइनलमा पराजित रहेको थियो । दक्षिण अफ्रिका भने गत वर्ष भएको महिला टी–२० क्रिकेटको फाइनलमा अस्ट्रेलियासँग नै पराजित रहेको थियो । तेस्रो पटक फाइनल खेलेको न्युजिल्यान्ड पहिलो पटक च्याम्पियन बन्दा दक्षिण अफ्रिकाले भने लगातार दोस्रो संस्करणमा उपविजेतामा सीमित भयो ।

न्युजिल्यान्ड महिला टी-२० विश्वकप जित्ने चौंथो टोली हो । अहिलेसम्म अस्ट्रेलियाले सर्वाधिक ६ पटक महिला टी–२० विश्वकपको उपाधि जितेको छ । इंग्ल्याण्ड र वेस्ट इण्डिजले एक/एक पटक उपाधि जितेको छ ।