खेलकुद

नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० आई सिरिज ‘क्लिन स्विप’

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज ‘क्लिन स्विप’ गरेको छ । अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा सोमबार बिहान भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो । 

नेपालले सुरुवाती दुई खेल जितेर यसअघि नै सिरिज आफ्नो पक्षमा पारेको थियो । जितका लागि अमेरिकाले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि आसिफ शेखले ५० रनको अर्धसतक प्रहार गरे । शेखले ३९ बल ५ चौका र २ छक्का प्रहार गरेका थिए । कुशल मल्ल र कुशल भुर्तेलले नटआउट ७४ रनको साझेदारी गरे । मल्लले ४४ तथा ुर्तेलले ४० रन बनाए । आपेनर अनिल साहले ११ बलमा १३ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा पाँच विकेट गुमाएर १ सय ५६ रनको लक्ष्य पेश गरेको थियो । घरेलु टोली अमेरिकाका लागि ओपनर साइतेज मुकामलले सर्वाधिक ६८ रन बनाए । उनले ५१ बलमा ५ चौका र दुई छक्का प्रहार गरेका थिए । 

यस्तै, मिलिन्द कुमारले ४३ रन बनाए । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । यस्तै, रिजन ढकाल र ललित राजवंशीको नाममा एक/एक विकेट रह्यो । 

अमेरिका भ्रमणमा रहेको नेपालले यो सिरिजपछि अमेरिका र स्कटल्यान्ड सम्मिलित लिग–टू का खेल खेल्नेछ । नेपालले पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको थियो । दोस्रो खेलमा नेपालले घरेलु टोली अमेरिकालाई सुपर ओभरमा पराजित गरेको हो ।