खेलकुद

साफ महिला च्याम्पियनसिपः सेमिफाइनलमा नेपालको प्रतिस्पर्धी भारत

- केएफएम डेस्ककाठमाडौं

काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । 

 समूह ‘बी’ को अन्तिम खेलमा नेपालले आज श्रीलङ्कालाई ६–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा ४–० गोल अन्तरको आग्रता बनाएको नेपालले दोस्रो हाफमा थप २ गोल गर्दै जित निकालेको हो । 

नेपालको जितमा रेखा पैडेलले २, सावित्रा भण्डारी, सविता रानामगर, रश्मिकुमारी घिसिङ र अमिशा कार्कीले समान एक–एक गोल गरे ।

यसअघि नै समूह ‘ए’ बाट बंगलादेश र भारत सेमिफाइनल पुगिसकेको छ । समूह ‘बी’ बाट भने भुटान सेमिफाइनल पुगेको छ ।  सेमिफाइलनका खेलहरु अगामी आइतबारबाट सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

 एन्फाका अनुसार आइतबार हुने पहिलो खेलमा बंगलादेश र भुटान तथा दोस्रो खेलमा नेपाल र भारतबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।