नेपाल अमेरिकासँग ३७ रनले पराजित
- काठमाडौंनेपाल आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–टू को आफ्नो तेस्रो खेलमा अमेरिकासँग ३७ रनले पराजित भएको छ । डालासस्थित मैदानमा गएराति भएको लिग–टू को आफ्नो तेस्रो खेलमा नेपाल घरेलु टोली अमेरिकासँग लगातार दोस्रो पटक पराजित भएको हो ।
सिरिजको पहिलो खेलमा नेपाललाई अमेरिकाले ३ विकेटले हराएको थियो । जितका लागि २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय ४४ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर अनिल साहले ५२ रनको अर्धशतकीय इनिङस् खेले । सोमपाल कामीले ४६, कुशल मल्लले ३३ र दीपेन्द्र सिंह ऐरीले ३१ रन बनाए । अमेरिकाका लागि सौरभ नेत्रभाल्करले सर्वाधिक चार विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो । अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले सर्वाधिक ६७ रनको योगदान दिए ।
यस्तै, मोनक पटेल ६५ र हरमित सिंह ५९ रन बनाएर आउट भए । नेपालका गुल्शन झाले ३ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट लिए । कुशल भुर्तेलको नाममा एक विकेट रह्यो ।
यो नतिजासँगै अमेरिका लिग–टू तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिकाको १२ खेलबाट १६ अंक भएको छ । समान १६ अंक नै भएपनि रनरेटका आधारमा क्यानडा दोस्रो स्थानमा रह्यो । पराजित नेपाल ५ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ ।