खेलकुद

यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल र थाइल्याण्ड भिड्ने

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

आईसीसी यू–१९ महिला टी–२० विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्याण्डको सामना गर्दैछ । संयुक्त अरब इमिरेट्स यूएईको अजमानस्थित सेभेन डिस्ट्रिक्ट स्पोर्ट्स क्लबमा हुने नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । 

एसिया छनोट अन्तर्गत आज हुने उद्घाटन खेलमा आयोजक यूएईले कुवेतसँग खेल्नेछ । एसिया छनोटमा नेपाल सहित आयोजक यूएई, कुवेत र थाइल्याण्ड रहेका छन् । 

चार टोलीमध्ये प्रत्येकले छ खेल डबल–लिग ढाँचामा खेल्ने छन् । प्रत्येक टीमले एक अर्कोसँग दुई–दुई खेल खेल्ने छन् । नेपालले आफ्नो दोस्रो खेलमा भोलि कुवेतको सामना गर्नेछ । यस्तै, नेपालले असोज २४ गते यूएई, असोज २५ मा थाइल्याण्ड, २७ गते कुवेत र अन्तिम खेल २८ गते यूएईसँग खेल्ने तालिका छ ।

एसिया क्वालिफायरको विजेताले अफ्रिका, पूर्वी एसिया प्रशान्त र युरोपका क्षेत्रीय छनोटबाट आफ्नो स्थान सुरक्षित गरिसकेका अन्य चार टोलीसँग सामेल हुनेछन् । प्रतियोगिताले छनोट हुने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा स्थान बनाउनेछ । 

एसिया छनोटमा नेपालको कप्तानी सिनियर टोलीकी पूजा महतोले गर्नेछन् । टोलीमा सोनी पाख्रिन, अनिसा कुमारी यादव, ज्योत्स्निका मरासिनी, रिया शर्मा, स्नेहा महरा, रचना कुमारी चौधरी, कृष्मा गुरुङ, सावित्री धामी, साना प्रवीण, कुसुम गोदार र सीमा केसी छन् ।