यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपालसँग थाइल्याण्ड १ सय ६ रनले पराजित
- काठमाडौंआईसीसी यू–१९ महिला विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले तेस्रो जित हात पारेको छ । संयुक्त अरब इमिरेट्स यूएइमा आज भएको खेलमा नेपालले थाइल्याण्डलाई १ सय ६ रनको फराकिलो अन्तरले हराएको हो ।
१ सय ४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १६ ओभरमा ३३ रन जोड्दै अल आउट भयो । नेपालको उत्कृष्ट बलिङको कारण थाइल्याण्डका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि कुशुम गोदारले ३, रिया शर्मा र रचना चौधरीले समान २ तथा कप्तान पूजा महतोले १ विकेट लिईन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो ।
नेपालका लागि सना प्रविनले ५३, साबित्री धामीले २८ तथा सोनी पाख्रिनले १९ रन जोडिन् । पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन तथा दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएकोे नेपाल तेस्रो खेलमा भने युएईसँग १३ रनले पराजित भएको थियो ।
नेपालले पाँचौं खेल कार्तिक २७ गते कुवेतसँग खेल्दा, अन्तिम खेल कार्तिक २८ मा यूएईसँग खेल्ने तालिका छ । डबल राउण्ड रोबिन लिगका आधार जारी प्रतियोगिताको पहिलो चरण सकिँदा यूएई पहिलो र नेपाल दोस्रो स्थानमा छन् । छनोटको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ । विश्व कप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।