खेलकुद

इण्डियाद्वारा च्याम्पियन्स ट्रफी पाकिस्तानमा खेल्न अस्वीकार

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

इण्डियाले च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि विवाद उत्पन्न भएको छ । आयोजक पाकिस्तानका अनुसार इण्डियाले च्याम्पियन्स ट्रफीमा सहभागी नहुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई जानकारी दिएको छ । 

दुई देशबीच जारी राजनीतिक तनावका कारण इण्डिया र पाकिस्तानले सन् २०१३ देखि पुरुष क्रिकेटको प्रमुख प्रतियोगिता बाहेक अन्य खेल खेलेका छैनन् । इण्डियाले विगत १६ वर्षदेखि पाकिस्तानमा कुनै पनि प्रतियोगिता खेलेको छैन । पाकिस्तानले सन् १९९६ पछि पहिलो पटक आगामी वर्षको फेब्रुअरी र मार्चमा च्याम्पियन्स ट्रफीको आयोजना गर्ने भएको छ ।

कुल ८ टोली सहभागी हुने प्रतियोगिता ५० ओभरको हुनेछ । तर, इण्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)ले आफ्नो टोलीले सीमा पार नगर्ने बारे आईसीसीलाई बताएको पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले जनाएको छ । आईसीसीले पीसीबीको धारणामा कुनै प्रतिक्रिया दिएको छैन तर, पाकिस्तान र अन्य सात प्रतिस्पर्धी राष्ट्रसँग तालिकाका बारेमा छलफल भइरहेको जनाएको छ ।

सुरक्षालाई ध्यानमा राखेर च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तानमा टोली पठाउन भारत सरकारले अस्वीकार गरेकोबारे बीसीसीआइले आईसीसीलाई जानकारी गराएको थियो । यस्तो अवस्थामा इण्डियाको खेल पाकिस्तान बाहिर आयोजना गर्ने माग गरिएको छ । 

एउटा सम्भावित समाधान प्रतियोगिताको ’हाइब्रिड’ स्टेजिङको लागि हुनेछ, जसमा इण्डियाले आफ्ना खेलहरु पाकिस्तान बाहिर सम्भवतः संयुक्त अरब इमिरेट्समा खेल्नेछ । गत वर्ष पाकिस्तानले एसिया कप आयोजना गर्दा पनि यस्तै मोडल प्रयोग गरिएको थियो । 

पीसीबीका अध्यक्ष मोहसिन नक्वीले इण्डियाको माग सही नभएको टिप्पणी गरेका छन् । पाकिस्तानले २०१६ को टी–२० विश्वकप र २०२३ को ५० ओभरको विश्वकप खेल्न भारत गएको थियो ।

पाकिस्तानले २०१६ को टी–२० विश्वकप र २०२३ को ५० ओभरको विश्वकप खेल्न इण्डिया गएको थियो । १५ वर्षअघि श्रीलंकाको टोलीमाथि बन्दुकधारीले आक्रमण गरेपछि पाकिस्तानले सन् २००९ देखि २०१५ सम्म कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गरेको थिएन । सन् २०२५ को च्याम्पियन्स ट्रफी आयोजनाको अधिकार पाकिस्तानले पाएदेखि नै इण्डियाले पाकिस्तान भ्रमण गर्ने इच्छालाई लिएर चिन्ता व्यक्त गरेको थियो । 

पाकिस्तानले यसअघि सन् २०२३ को एसिया कप आयोजना गरेका थिए, तर इण्डियाले पाकिस्तान भ्रमण गर्न नचाहेपछि खेलहरु श्रीलंकामा सारिएको थियो । यसका बावजुद पनि पाकिस्तानले आईसीसी क्रिकेट विश्वकप २०२३ को लागि इण्डिया भ्रमण गरेको थियो । 

इण्डियाले पछिल्लो पटक सन् २००८ मा एसिया कपका लागि पाकिस्तानको भ्रमण गरेको थियो र मुम्बईमा भएको भयानक आतंकवादी हमलापछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो ।