यू-१९ महिला टी-२० विश्वकपको एसिया छनोटमा नेपाले यूएईसँग खेल्दै
- काठमाडौंआईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले आज आयोजक संयुक्त अरब इमिरेट्स यूएईको सामना गर्दैछ ।
यूएईको अजमानस्थित सेभेन डिस्ट्रिक्ट स्पोर्ट्स क्लबमा हुने नेपाल र घरेलु टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ । नेपाल आजको खेलमा आयोजक यूएईको चुनौती पन्छ्याउँदै जित निकाल्ने लक्ष्यमा हुनेछ ।
यसअघि शनिबार भएको यूएईसँगको खेलमा नेपाल १३ रनले पराजित भएको थियो । यूएईले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय नौ रन मात्रै बनाएको थियो । नेपाललाई आज सोही हारको बदला लिने अवसर पनि छ ।
सन् २०२५ मा मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकपमा स्थान बनाउनका लागि यो खेल महत्वपूर्ण छ । तर, जारी प्रतियोगितामा अपराजित रहेको यूएईलाई हराउन नेपाललाई सहज भने हुने छैन ।
आयोजक यूएई अपराजित रहँदै १०८ अंकका साथ शीर्ष स्थानमा रहेको छ । पाँच खेलमा चारमा जित र एकमा हार बेहोरेको नेपाल भने ८ अंकका साथ दोस्रो स्थानमा छ ।
यसअघि हिजो भएको खेलमा कुवेतमाथि १ सय ६५ रनको फराकिलो जितले नेपालको मनोबल उच्च छ । कप्तान पूजा महतोले अविजित १ सय ३० रनको ऐतिहासिक इनिङस् सहित ५ विकेट लिएकी थिइन् । एसिया छनोटको पहिलो स्थानमा रहने टोलीले आगामी वर्ष हुने यू–१९ महिला टी–२० विश्वकपमा स्थान बनाउनेछ ।