खेलकुद

नेसन्स लिगमा बोस्नियामाथि जमर्नीको कीर्तिमानी जित

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

जर्मनीले यूईएफए नेसन्स लिग फुटबलमा बोस्नियामाथि कीर्तिमानी जित हात पारेको छ । युरोपा पार्क स्टेडियनमा गएराति भएको खेलमा जर्मनीले बोस्नियामाथि ७–० गोलको फराकिलो जित निकालेको हो । 

प्रतियोगिताको ६ वर्षको इतिहासमा यो नै अहिलेसम्मको सबैभन्दा ठूलो अन्तरको जित हो । जमल मुसिएलाले खेलको दोस्रो मिनेटमा गरेको गोल मार्फत घरेलु टोली जर्मनीले अग्रता लिएको थियो । त्यसपछि टिम क्लेनडिनेस्टले २३ र ७९ तथा फ्लोरिन विर्टजको ५० र ५७ औं मिनेटमा दुई/दुई गोल गरे । काइ हारभटेज र लेरोय सेनको नाममा एक–एक गोल रह्यो ।

यो जितसँगै जर्मनीले एक खेल अगाडि नै लिग–ए ग्रुप–थ्री जित्ने निश्चित भएको छ । जर्मनी यसअघि नै प्रतियोगिताको क्वाटरफाइनल पनि पुगिसकेको छ । यो हारसँगै बोस्निया प्रतियोगिताका दोस्रो श्रेणीमा झरेको छ । 

सोही समूहकै अर्को खेलमा नेदरल्यान्ड्सले हंगेरीलाई ४–० गोलले पराजित गरेको छ । लिग–बी ग्रुप–वानमा जर्जिया र युक्रेनले १–१ तथा अल्बानिया र चेक गणतन्त्रले गोलरहित बराबरी खेलेका छन् ।