मोहम्मद सलाहको दुई गोलमा लिभरपुल विजयी
- काठमाडौंइंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले तालिकामा ८ अंकको अग्रता बनाएको छ । सेन्ट मेरिज स्टेडियममा गएराति भएको खेलमा लिभरपुलले घरेलु टोली साउथह्याम्पटनलाई ३–२ गोलले पराजित गरेको हो ।
यो रोमाञ्चक नतिजाँसगै लिभपुरले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ८ अंकको दूरी बनाएको हो । लिभरपुलको १२ खेलबाट ३१ अंक भएको छ । समान १२ खेल खेलेको सिटी २३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
लिभरपुलले ३० औं मिनेटमा डोमिकिन सोबस्लाईको गोलबाट अग्रता लिएको थियो । खेलको ४२ औं मिनेटमा साउथह्याम्पटनका लागि एडम आम्स्ट्रङले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
खेलको ५६ औं मिनेटमा माटेयस फर्नान्डेसले गोल गरेपछि लिभरपुल २–१ ले पछि परेको थियो । तर, मोहम्मद सलाहले दुई गोल गर्दै लिभरपुललाई जित दिलाए । सलाहले खेलको ६५ औं र ८३ औं मिनेटमा गोल गरेका थिए । यो हारसँगै अन्तिम स्थानमा रहेको साउथह्याम्पटनको मात्र चार अंक छ ।