इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको शीर्ष स्थानमा
- काठमाडौंआरबी लाइपजिगलाई पराजित गर्दै इन्टर मिलान यूईएफए च्याम्पियन्स लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । घरेलु मैदानमा सान सिरो स्टेडियममा गएराति भएको खेलमा इन्टर मिलानले आरबी लाइपजिगलाई १–० गोलले हराएको हो ।
खेलको २७ औं मिनेटमा लाइपजिगका कास्टेलो लुकेबाको आत्मघाती गोलले इन्टर विजयी भएको हो । फेडेरिको डिमाक्रोको फ्रि किकमा लाइपजिगका डिफेन्डर लुकेबाले आफ्नै पोस्टमा गोल गरेका थिए ।
लाइपजिगले अन्तिम समयमा दबाब बनाए पनि घरेलु टोली इन्टरको रक्षापंक्तिलाई तोड्न सकेन् । यो नतिजासँगै इन्टर मिलानको पाँच खेलबाट १३ अंक भएको छ ।
लिगको अन्य खेलमा बार्सिलोनाले ब्रेस्टमाथि ३–० गोलको जित हात पारेको छ । योसँगै बार्सिलोना १२ अंकमा तालिकाको दोस्रो स्थानमा रहेको छ । यस्तै, बायर्न म्युनिकले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–०, एसी मिलानले स्लोभान ब्राटिस्लाभालाई ३–२ तथा एटलेटिको म्याड्रिडले स्पार्टक प्रागलाई ६–० गोलले पराजित गरेको छ ।