खेलकुद

एसीसी यू–१९ एसिया कपः पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित

- केएफएम डेस्ककाठमाडौं

एसीसी यू–१९ एक दिवसीय एसियाकप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । संयुक्त अरब इमिरेट्स यूएईस्थित शारजाह क्रिकेट मैदानमा भएको खेलमा नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित भएको हो ।

श्रीलङ्काले दिएको २ सय ३३ रनको लक्ष्य पछा्याउने क्रममा नेपाल ४६ दशलव २ ओभरमा अल आउट हुँदै १ सय ७८ रनमा समेटिएसँगै हारबाट प्रतियोगिताको सुरुवात गरेको हो ।

नेपालका लागि मयन यादवले सर्वाधिक ६२ रन बनाए भने आकाश त्रिपाठीले १९ र उत्तम मगरले १७ रन मात्र बनाउन सके । त्यसअघि सुरुवाती ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २ सय ३३ रन बनाएको थियो ।

उसका लागि शरुजन सामुगानाथानले सर्वाधिक ६२ तथा कभिजा गेमेजले नटआउट ५० रनको अर्धशतकीय इनिङ्स खेले । नेपालका लागि सन्तोष यादवले १० ओभरमा ४५ रन खर्चिएर ४ विकेट लिए । यस्तै युवराज खत्रीले ४४ रन खर्चिँदै २ विकेट लिए भने कप्तान हेमन्त धामी र नरेन साउदले समान १÷१ विकेट हात पारे ।



अब नेपालले आफ्नो दोस्रो खेलमा पर्सी आइतबार बंगलादेशसँग खेल्ने छ भने मङ्गलबार हुने तेस्रो खेलमा अफानीस्तानसँग खेल्ने तालिका छ । प्रतियोगितामा सहभागी आठ टोलीलाई दूई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र जापान छन् । नेपाल रहेको समूह बीमा अफगानीस्तान, श्रीलङ्का र बंगलादेश छन् ।