क्रिकेटको महाकुम्भ एनपीएल आज सुरु हुँदै
- काठमाडौंनेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को पहिलो संस्करण काठमाडौंमा आज सुरु हुँदैछ । एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ । विराटनगर किंग्सको कप्तानी लेग स्पीनर सन्दीप लामिछाने र जनकपुरको कप्तानी अनिल शाहले गर्नेछन् ।
सन्दीप विराटनगरका मार्की खेलाडी पनि हुन् । जनकपुरको मार्की आसिफ शेख भए पनि अनिललाई कप्तान चयन गरेको हो । जनकपुरले मात्र मार्की बाहेक फरक खेलाडी कप्तान बनाएको हो ।
नेपालका घरेलुसहित राष्ट्रिय टोलीका खेलाडी तथा ४० विदेशी खेलाडीले एनपीएललाई प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ । यसले नेपाली क्रिकेटलाई आर्थिक रुपमा बलियो बनाउनुका साथै खेलाडीको क्षमता तिखार्दै प्रतिभावानलाई अगाडि ल्याउने विश्वास गरिएको छ ।
स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपीएलले निकै चर्चा पाएको हो । आसिफ शेख मार्की रहेको जनकपुरलाई ललित राजवंशी, किशोर महतो, शुभ कंसकार, तुलबहादुर थापा लगायत खेलाडीको साथ छ ।
अन्डर नाइन्टिन एसिया कपका कारण हेमन्त धामी भने उपलब्ध हुने छैनन् । न्युजिल्यान्डका जिमी नीशम जनकपुरको अर्को बलियो पक्ष हो । विराटनगरमा लोकेश बम, प्रतीश जिसी, बसिर अहमद, जितेन्द्र मुखिया छन् ।
सन्दीप आफैं विश्वस्तरीय स्पिनर रहेकाले खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । आगामी पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा जनकपुर बोट्ल्ससँगै विराटनगर किंग्स, कर्णाली याक्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ । एनपीएलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्सबाट हुनेछ ।
यसैबीच, एनपीएल हेर्न त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले टिकट मूल्यमा छुट प्रदान गर्ने नेपाल क्रिकेट संघले जनाएको छ । त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने खेलमा त्रिवि विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई ५० प्रतिशत छुट दिने क्यानले जानकारी दिएको हो ।