एनपीएल क्रिकेटमा चितवनको दोस्रो जित
- काठमाडौंचितवन राइनोजले नेपाल प्रिमियर लिग क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।
आज भएको खेलमा चितवनले पोखरा एभेन्जर्सलाई ८७ रनले हरायो ।
१ सय ६२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको पोखराले १३ ओभर २ बलमा अल आउट हुँदै ७४ रन बनायो ।
पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे ।
उनी बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
चितवनका लागि सोहेल तन्भिर, रिजन ढकाल र ल्युक बेनकेनस्टेनले समान ३ तथा दीपक बोहोराले १ विकेट लिए ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।
उसका लागि रवि बोपाराले सर्वाधिक ५१ रन जोडे ।
पोखराका लागि विपिन खत्री, बास डि लिडे र रेमन रेइफरले समान २ तथा सागर ढकालले १ विकेट लिए ।
जितसँगै चितवनले २ खेलबाट ४ अंक जोडेको छ ।
चितवनले आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको थियो ।