खेलकुद

जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सको सामना गर्दै

- रेडियो कान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिग एनपीएलमा अपराजित जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भईरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । 

अनिल शाहको कप्तानीमा रहेको जनकपुरले सुरुवाती तीन खेलमा शतप्रतिशत जित निकालेको छ । उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको थियो । जनकपुर ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।

लुम्बिनी भने प्रतियोगितामा जितविहीन छ । तीनमा तीनै खेल हारेको लुम्बिनी अंक तालिकामा पुछारमा छ । लुम्बिनीले यसअघि विराटनगर, पोखरा र सुदूपश्चिमसँग हार बेहोरेको थियो । निकै खराब सुरुआत गरेको लुम्बिनीले आफ्नो टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । 

पहिलो तीनै खेलमा पराजित लुम्बिनीले अघिल्लो खेल खेलेको टोलीबाट सूर्य तामाङ, दीनेश अधिकारी र उनमुक्त चन्दको स्थानमा आशुतोष घिरोहिया, अभिशेष गौतम र बन कटिङलाई खेलाएको छ ।

जनकपुरले तुलबहादुर थापाको स्थानमा शेर मल्ललाई खेलाएको छ । जनकपुर एक जितले प्लेअफ नजिक पुग्नेछ भने आजको खेलमा पराजित भए लुम्बिनी लायन्सको प्लेअफ पुग्ने सम्भावना लगभग अन्त्य हुनेछ । 

यस्तै, आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्नेछ । चितवन राइनोज तीनमध्ये दुई खेल जितेर अंक तालिकामा तेस्रो स्थानमा छ । चितवनले यसअघि काठमान्डु र पोखरालाई हराएको थियो भने कर्णाली विरुद्धको खेलमा भने पराजित भएको थियो । 

सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई हराएको थियो । तीनै खेल जितेर समान ६ अंक बटुलेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा छ । यी दुई टोलीबीचको खेल दिउँसो एक बजे सुरु हुनेछ ।