खेलकुद

प्रिमियर लिगमा वेस्ट ह्यामसँग उल्भ्स पराजित

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाइटेडले खराब लयबाट गुज्रिरहेको उल्भ्सलाई पराजित गरेको छ । घरेलु मैदान लन्डन स्टेडियममा गएराति भएको खेलमा वेस्ट ह्याम युनाइटेडले पाहुना टोली उल्भ्सलाई २–१ गोलले पराजित गरेको हो । 

उल्भ्सको यो लगातार तेस्रो हार हो । लगातारको हारले उल्भ्समाथि रेलिगेसनमा पर्ने दबाब चर्को छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

जारोड बोवेनको कर्नरमा टोमस सोसेकले दोस्रो हाफमा हेडर मार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । सोसेकले खेलको ५४ औं मिनेटमा गोल गरेका थिए । तर, ६९ औं मिनेटमा उल्भ्सका म्याट दोहर्टीले बराबरी गोल फर्काए । 

खेलको ७२ औं मिनेटमा बोवेनले गरेको गोल वेस्ट ह्यामको जितमा निर्णायक बन्यो । यो जितसँगै वेस्ट ह्याम १५ खेलबाट १८ अंकका साथ तालिकाको १४ औं स्थानमा उक्लिएको छ । यो हारले ग्यारी ओ’नेलको उल्भ्स भने थप संकटमा परेको छ । उल्भ्स समान १५ खेलबाट मात्र ९ अंक जोडेर तालिकाको १९ औं स्थानमा रह्यो ।