जितविहीन लुम्बिनी लायन्सले चितवनको सामना गर्दै
- काठमाडौंनेपाल प्रिमियर लिग क्रिकेट एनपीएलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने लुम्बिनी र चितवन बिहान ९ बजे सुरु हुनेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी जारी प्रतियोगितामा अहिलेसम्म जितविहीन छ । लुम्बिनी लगातार पाँचौं हार टार्ने लक्ष्यमा छ ।
सुरुको आफ्नो चार खेलमै पराजित भएको लुम्बिनी प्लेअफको समीकरणबाट लगभग बाहिरिइसकेको छ । लुम्बिनी यो खेलमा पराजित भए लिग चरणबाटै बाहिरिनेछ । त्यसैले शीर्ष चारको सम्भावना जीवितै राख्न पनि यो खेल जित्नै पर्ने दबाब छ ।
प्रतियोगिता सुरुअघि बलियो दाबेदार मानिएको लुम्बिनीले विराटनगर किंग्ससँग २ विकेटले पराजित भएको थियो । त्यसपछिका खेलमा पोखरा एभेन्जर्ससँग १० विकेट, सुदूरपश्चिम रोयल्ससँग ४५ रन र जनकपुर बोल्ट्ससँग १ रनको हार बेहोरेको थियो । रोहितको व्यक्तिगत प्रदर्शन राम्रो भए पनि आरिफ शेख, विवेक यादव, सन्दीप जोरा, बेन कटिङ फर्ममा नहुँदा लुम्बिनी संकटमा छ ।
यता कुशल मल्लको कप्तानीमा रहेको चितवनले यसअघिका चार खेलमध्ये तीनमा जित एकमा मात्र हार बेहोरेको छ । पछिल्लो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराएको चितवनको मनोबल उच्च छ ।
आजको खेलमा लुम्बिनीलाई पराजित गरेमा चितवनको प्लेअफमा पुग्ने सम्भावना बलियो बन्ने छ । चितवन चार खेलबाट ६ अंकका साथ लिग तालिकाको तेस्रो स्थानमा छ । चितवन तालिकाको शीर्ष स्थानमा रहेको जनकपुर बोल्टस्सँग अंक बराबरी गर्न लक्ष्यमा छ ।
यस्तै, एनपीएल अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदै छन् । यी दुई टोलीबीचको प्रतिस्पर्धा दिउँसो एक बजे सुरु हुनेछ ।