खेलकुद

नेपालले यू-१९ एसिया कपमा पाकिस्तानको सामना गर्दै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपालले एसीसी महिला यू–१९ एसिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा हुने नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ । 

नेपाल पूजा महतोको कप्तानीमा मैदान उत्रदै छ । पाकिस्तानी टिम जुफिसान आयाजको कप्तानीमा रहेको छ । नेपाल आफ्नो पहिलो खेलमामा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । पाकिस्तान भने आफ्नो दोस्रो खेल खेल्दै छ । 

हिजो भएको पहिलो खेलमा पाकिस्तान चिर प्रतिद्वन्द्वी भारतसँग नौ विकेटले पराजित भएको थियो । त्यसैले उसका लागि नेपालसँगको खेल पुनरागमनको अवसर हो । 

महतोको कप्तानीमा रहेको टिममा उपकप्तान सोनी पाख्रिन, सना प्रविन, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिसाकुमारी यादव र सावित्री धामी लगायत छन् । सिनियर टिमबाट खेलिसकेका महतो र पाख्रिन नेपालका मुख्य खेलाडी हुन् । 

यो प्रतियोगिता आईसीसी यू–१९ विश्कपको तयारी पनि हो । पहिलो पटक विश्वकप खेल्न लागेको नेपालले बलियो विपक्षी पाकिस्तान विरुद्ध उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ । समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र मलेसिया छन् ।