सुदूरपश्चिम रोयल्ससँग कर्णाली ६ विकेटले पराजित
- काठमाडौंसुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलमा कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १ सय २ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १५ ओभर २ बलमा चार विकेटको क्षतिमा १०५ रन बनायो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ रन बनाए । सैफ जैबले ११ रन बनाएर आउट भए । इशान पाण्डेले ३६ बलमा अविजित ३८ रन बनाएर सुदूरपश्चिमलाई जिताए । उनले ४ चौका प्रहार गरे । बलिङतर्फ कर्णालीका सोमपाल कामी, विपीन शर्मा र नन्दन यादवले समान एक–एक विकेट लिए ।
त्यसअघि सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय १ रन बनाएको थियो ।
कर्णालीका जिशान मक्शुदले सर्वाधिक ३० रन बनाए । पाँचौ विकेटका लागि विलियम बोसिस्टो र मक्शुदले ३९ रनको साझेदारी गरे । बोसिस्टोले १६ रन जोडे । कप्तान सोमपाल कामी र चाडविक वाल्टनले समान ११ रन बनाए ।
सुदूरपश्चिमका लागि हर्मित सिंहले ३, कप्तान दीपेन्द्र र कुग्गेलेइनले समान २ विकेट लिए । सैफ जैब र हर्मित सिंहले समान १-१ विकेट हात पारे ।
यो नतिजासँगै एनपीएलको प्लेअफ समीकरण पूरा भएको छ । सुदूरपश्चिमले १०२ रनको लक्ष्य १२.२ ओभरमा पूरा गरेको भए कर्णालीलाई उछिन्दै काठमाण्डु गुर्खाज नेट रन रेटमा अगाडि रही प्लेअफमा पुग्ने थियो ।
सुदूरपश्चिमले १५.२ ओभरमा पूरा गरेपछि कर्णाली पनि शीर्ष चारमा सुरक्षित भएको हो । योसँगै काठमान्डु गुर्खाजको प्लेअफ खेल्ने सम्भावना सकिएको छ । योसँगै सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, र कर्णाली याक्स प्लेअफमा पुगेका छन् ।