खेलकुद

नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपालले एसीसी महिला यू–१९ एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा चिर प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ । 

नेपाल–भारतबीचको आजको खेलपछि समूह विजेताको टुंगो लाग्नेछ । भारतको चुनौती पन्छ्याउँदै नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । यसअघि कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको ऐतिहासिक जित हासिल गरेको थियो । 

पाकिस्तानले दिएको १ सय ४ रनको लक्ष्य नेपालले १ ओभर अघि नै पूरा गरेको थियो । नेपालको जितमा कप्तान महतोले सानदार अलराउन्ड प्रदर्शन गरिन् । महिला क्रिकेटको कुनै पनि समूहमा नेपालले टेस्ट राष्ट्रको टोलीलाई हराएको यो पहिलो पटक हो ।

पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल पुगेको हो । समूह ‘ए’बाट भारतले पनि सेमिफाइनलमा स्थान बनाईसकेको छ । पाकिस्तान आफ्नो पहिलो खेलमा भारतसँग ९ विकेटले पराजित भएको थियो । 

समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र मलेसिया छन् । अघिल्लो महिना यूएईमा आईसीसी यू–१९ महिला टी–२० विश्वकपको एसिया छनोट जितेसँगै नेपाल एसीसी यू–१९ एसिया कप र आईसीसी यू–१९ विश्वकपका लागि छनोट भएको थियो ।